मङ्गलबार साँझ लालबन्दी नगरपालिका–७ मा पोखरेल गम्भीर रूपमा घाइते अवस्थामा फेला परेका थिए। प्रारम्भिक उपचारपछि उनलाई राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा बुधबार बिहान करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि प्रारम्भमै पुरुषको पहिचान खुल्ने अवस्था नभएकाले प्रहरीले एम्बुलेन्समार्फत जनकपुर पठाएको थियो। बुधबार बिहान मात्र परिवारजन सम्पर्कमा आएपछि मृतकको नाम–थर पुष्टि भएको प्रहरी निरीक्षक वीरन्द्रसिंह जोहारीले बताए।
प्रहरीका अनुसार पोखरेल केही समयदेखि घरभन्दा बाहिर रहन खोज्ने र प्रायः मठ–मन्दिर आसपास बस्ने गरेका थिए। घटनाको कारणबारे स्पष्ट विवरण प्राप्त नभएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ। परिवारजन झापाबाट जनकपुर आउँदै गरेको प्रहरीले जनाएको छ।






