Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरा नयाँगाउँ र घारीपाटन जोड्ने सिताराम पुल जीर्ण बन्दै , जोखिमसहितको आवतजावत गर्दै सर्वसाधारण


पोखरा, मंसिर ९ गते
  — पोखरा महानगरपालिका–१५ नयाँगाउँ र वडा–७ घारीपाटन जोड्ने सिताराम पुल दिनानुदिन जिर्ण बन्दै गएपछि स्थानीयवासी तथा दैनिक यात्रुहरू जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्। पोखराको बिरौटा, घारीपाटन हुँदै नयाँ विमानस्थल (पोखरा अन्तर्राष्ट्रिय विमानस्थल) जाने वैकल्पिक मार्गको रूपमा पनि यो पुल अत्याधिक प्रयोग हुँदै आएको छ।

मुख्य शहर क्षेत्र, विशेषगरी पृथ्वीचोक–इन्द्रचोक–बुद्धचोक-अमरसिंह क्षेत्रमा सवारी चाप बढ्दा, धेरै चालक तथा यात्रुले जामबाट बच्न यस पुललाई वैकल्पिक र छोटो मार्गको रूपमा प्रयोग गर्छन्। तर पुल अत्यधिक जीर्ण बनेको कारण दुर्घटनाको जोखिम बढ्दो छ।

सिताराम हाउजिङ आसपासका बासिन्दादेखि विद्यालय, कार्यालय तथा व्यवसायमा जानेहरूका लागि यस क्षेत्र पार गर्न अन्य विकल्प नहुँदा सबैजना यही पुल प्रयोग गर्न बाध्य छन्।
यातायात व्यवसायीहरुका अनुसार, पुलको क्षमता भन्दा धेरै सवारी आवतजावत हुँदा जोखिम थप बढेको छ।

फालामे सामग्रीबाट निर्मित यो पुल वर्षा भएको बेला अत्यन्त चिप्लिने भएकाले पैदल यात्रु तथा मोटरसाइकल चालक धेरैजसो फस्ने, चिप्लने र लड्ने घटना दोहोरिने गरेको स्थानीयहरू बताउँछन्। बिहान सबेरै शीत परेका बेला पनि पुल चिप्लिने समस्या उस्तै रहने गरेको गुनासो छ।

यो पुल वडा १५, वडा ७ र वडा १७ सबैले प्रयोग गर्ने मार्ग भए पनि मर्मत तथा स्तरोन्नतिका बारेमा वडास्तरबाट खासै पहल नभएको स्थानीयको आरोप छ।

विरौटाचोक–रामबजार–अमरसिंहचोक–चाउथे हुँदै विमानस्थल र मुख्य राजमार्गसम्म दैनिक हजारौं यात्रुको आवातजावत हुने भए पनि पुलको अवस्था वर्षौंदेखि उस्तै छ।

स्थानीयवासीका अनुसार, पुललाई अविलम्ब स्थायी संरचनाले प्रतिस्थापन गरिए यात्रु तथा चालक सबैले ठूलो राहत पाउने थिए।
जिर्ण पुलकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने चिन्ता स्थानीयमा बढ्दै गएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom