Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

राजधानीमा सुन र नगद लुटपाट गर्ने चार जनाको पक्राउ



मङ्सिर ११ गते । काठमाडौँको तारकेश्वर नगरपालिका–१०, नेपालटारमा एक महिलामाथि सुन, नगद तथा विभिन्न सामग्री लुटपाट गरेको आरोपमा चार जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बैङ्कमा कार्यरत महिला कर्मचारीको साथबाट सामान छिनतैकरी फरार रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय विशाल राई, नुवाकोटका १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समीर तामाङ रहेका छन्। उनीहरूले गत मङ्सिर ८ गते साँझ घर फर्किंदै गरेकी महिलाको साथबाट बलपूर्वक झोला छिनतै गरेको आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार मोटरसाइकलमा आएका उनीहरूले महिलाको झोलामा रहेको नगद, सुनका गहना, बैङ्क चाबी, मोबाइल फोन तथा अन्य कागजात लुटपाट गरी फरार भएका थिए। घटना अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरी घटनामा प्रयोग भएको मोबाइल, चाबीको झुप्पो, १२.६३० ग्राम सुनको झुम्का, ७.८ लाल सुनको टप र रु. २,५०० नगदसहित बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom