१ मंसिर २०८२, सोमबार
देशभर राजनीतिक दल दर्ता गर्ने लहर तीव्र बनेको छ । कात्तिक ३० गतेसम्म निर्वाचन आयोगमा १२३ दलले दर्ताको प्रमाणपत्र लिइसकेका छन्, भने ३२ दल दर्ता प्रक्रियामा रहेका आयोगले जनाएको छ । दर्ताका लागि निवेदन दिए पनि धेरै दलले अपुग कागजातका कारण प्रमाणपत्र पाउन सकेका छैनन् । आयोगले आवश्यक कागजात बुझाउन थप समय दिने तयारी गरेको छ ।
जेनजी आन्दोलनपछि दल दर्तामा चहलपहल
जेनजी आन्दोलनपछि वैचारिक रूपमा ‘रिजर्भ’ अवस्थामा रहेर बसेका धेरै चर्चित व्यक्तिहरू खुला रूपमा राजनीतिक अभियानमा उत्रिएका छन् । उनीहरूले आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गराउँदै आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित तयारी अघि बढाएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पूर्वमुख्य सल्लाहकार प्रशान्त सिंह ‘पिपुल फस्र्ट पार्टी’ दर्ता गर्न निवेदनसहित आयोग पुगेका छन् । सिंहका अनुसार “सामान्य अवस्थामा एक वर्षपछि दल दर्ता गर्ने योजना” भए पनि परिस्थितिले अहिले नै दर्ता गर्न बाध्य बनाएको बताए । सो दलमा राजनीतिक विश्लेषक डम्बरनारायण खतिवडा पनि आबद्ध छन् ।
पूर्वसचिवदेखि चिकित्सक–इन्जिनियरसम्म राजनीतिक यात्रामा
पूर्वसचिव तथा इन्जिनियर अनुपकुमार उपाध्यायले ‘उज्यालो पार्टी नेपाल’ दर्ता गराएका छन् । उनको केन्द्रीय समितिमा ६ जना इन्जिनियर र ७ जना डाक्टर रहेका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी पनि सो दलमा छन् ।
त्यस्तै उद्यमी दिनेशराज प्रसाईं नेतृत्वको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता भइसकेको छ । सो दलको २९ सदस्यीय समितिमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतसमेत छन् ।
अर्थविद् तथा उद्यमी गोपीलाल न्यौपानेले ‘नेपाल लिभरल पार्टी’ दर्ता प्रक्रियामा सहभागी हुँदै आर्थिक उदारवाद र स्वतन्त्रताको पक्षमा आफू अघि बढेको बताएका छन् ।
प्रतिबन्धित चन्द समूह पनि दर्ता प्रक्रियामा
नेत्रविक्रम चन्द नेतृत्वको समूहले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता निवेदन दिएको छ । तर कागजात अपुग भएकाले आयोगले हालसम्म मान्यता प्रदान गरेको छैन ।
जेनजी युवा नेताहरू पनि प्रक्रियामा
जेनजी आन्दोलनपछि बनेको ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ आवश्यक कागजात पेस गर्न नसक्दा कात्तिक ३० गते निवेदन फिर्ता लिएको छ । प्रमुख व्यक्ति हिराप्रसाद सोती भने हाल ‘उज्यालो पार्टी नेपाल’ मा आबद्ध भएका छन् ।
आन्दोलनताका घाइते भएका राजेश प्रतेलले भने आफ्नै संयोजकत्वमा दल दर्ता प्रक्रिया अघि बढाइरहेका छन् । उनको २१ सदस्यीय समितिमध्ये १९ जना २८ वर्षमुनिका छन् ।
कात्तिक २९ गते किशोरी कार्की नेतृत्वको ‘नवनिर्माण पार्टी’ दर्ताका लागि निवेदन परेको छ, तर कागजात अपुग छ । धरानका मेयर हर्कराज राईले ‘श्रम संस्कृति पार्टी’ दर्ता गराएका छन् ।
३२ दल अझै प्रक्रियामै
दर्ता हुन बाँकी दलमध्ये ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’, ‘नागरिक सर्वोच्चता पार्टी’, ‘नेपाली प्रथम पार्टी’, ‘राष्ट्रिय गौरव पार्टी’, ‘एकता नेपाल’लगायत ३० भन्दा बढी दल कागजात अपुग रहेकाले मान्यता पाउन बाँकी छन् ।






