रौतहट, मङ्सिर १६ । रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली जस्तो देखिने नेपाली मुद्रा सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ १६:०५ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्दा भारत पूर्वी चम्पारण, चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जयप्रकाश कुमारसहित दुई नेपाली नागरिक पक्राउ परेका हुन्। पक्राउ परेकामा रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी करिब २० वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण, रौतहटले जनाएको छ।
उनीहरूले साथमा राखेको झोलाबाट १,००० दरका ११७ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। घटना अनसन्धानका क्रममा उनीहरू नक्कली नोट सीमापार तस्करीमा संलग्न रहेको आशंका प्रहरीले व्यक्त गरेको छ।
पक्राउ परेकालाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी मठिया, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






