पुस १५ गते । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।
लोकन्थली चोकस्थित सडक खण्डमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ना. ७ ख. ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले सोही दिशातर्फ जाँदै गरेको बा. २३ प. ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँको कीर्तिपुरमा बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिनुभयो ।
दुर्घटनापछि ट्याङकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१, अम्लेखगञ्ज निवासी २५ वर्षीय प्रशान्त बललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।






