Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

विनोद खड्गी हत्या प्रकरण : हनी ट्रयापमार्फत अपहरणपछि निर्मम हत्या, तीन जनालाई जन्मकैद

 

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–५ निवासी ५० वर्षीय विनोद खड्गीको अपहरण, फिरौती असुली र निर्मम हत्या प्रकरणमा संलग्न तीन जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले हनी ट्रयापको योजनाकारसहित मुख्य अभियुक्तहरूलाई दोषी ठहर गर्दै कडा फैसला गरेको हो ।

अदालतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बस्दै आएकी मनिषा महत, महोत्तरीको गौशला नगरपालिका–६ घर भई हाल भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतिक गौतमलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतका स्रेस्तेदार इन्दिरा कार्कीका अनुसार उनीहरूले जनही दुई लाख रुपैयाँका दरले पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने र जनही २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने आदेश पनि भएको छ । साथै, आशिष पासवानको प्रयोगमा रहेको स्कुटर जफत गरी जाहेरवालालाई दिने फैसला समेत गरिएको छ ।

यसै प्रकरणमा मतियारको भूमिकामा मुद्दा चलाइएका काठमाडौँ शङ्करापुर नगरपालिका–५ निवासी सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनको सजाय निर्धारणका लागि छुट्टै पेशी तोकिएको छ । घटनामा संलग्न भनिएका अन्सु खान र शिवम सिंह राजपुत फरार छन् भने अन्य प्रतिवादीहरू रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाइ पाएका छन् ।

के हो विनोद खड्गी हत्या प्रकरण ?

किर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका विनोद खड्गीलाई योजनाबद्ध रूपमा हनी ट्रयापमा पारेर अपहरण, फिरौती असुली र अन्ततः हत्या गरिएको थियो । प्रहरी अनुसन्धान अनुसार २०८१ साल असोज ५ गते राति मनिषा महतले “नागरिकताको प्रतिलिपी बनाउन सहयोग चाहियो” भन्दै खड्गीलाई खाना खानका लागि आफ्नो कोठामा बोलाएकी थिइन् । कोठामा खाना खाइसकेपछि खड्गीलाई कुटपिट गरी घाइते बनाउँदै सुरुमा ३० लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।

तर रकम धेरै भएको भन्दै मनिषाले नै १० लाख रुपैयाँ माग्ने प्रस्ताव राखेकी थिइन् । खड्गीले आफूसँग त्यति रकम नभएको भन्दै पाँच लाख रुपैयाँ दिन तयार रहेको बताएपछि उनले आफ्नै मासु पसलका कर्मचारीलाई फोन गरी रकमको व्यवस्था गर्न लगाए । सोहीअनुसार राधेराधेस्थित भाटभटेनी अगाडि पाँच लाख रुपैयाँ फिरौती रकम बुझाइएको थियो ।

फिरौती रकम प्राप्त गरेपछि पनि अभियुक्तहरूले खड्गीलाई जीवित छाड्दा भविष्यमा समस्या हुनसक्ने निष्कर्ष निकाल्दै हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । त्यसपछि मनिषा, अन्सु, शिवम, आशिष र प्रतिकले मिलेर खड्गीको हातखुट्टा डोरीले बाँधी शरीरका विभिन्न संवेदनशील अङ्गमा कुटपिट गरेका थिए । उनीहरू खड्गीलाई भक्तपुरको गुण्डु पुर्‍याई छातीका संवेदनशील भागमा इँटाले प्रहार गरी हत्या गरेको अनुसन्धानले देखाएको छ ।

हत्यापछि अभियुक्तहरूले शव काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो क्षेत्रमा फालिदिएका थिए । हत्या पश्चात असोज ६ गते अन्सुले फिरौती रकम बाँडफाँड गर्दै मनिषालाई एक लाख, प्रतिकलाई १० हजार, आशिषलाई २० हजार र आफ्नो दिदी रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो घटनाले आपराधिक हनी ट्रयाप, अपहरण र फिरौतीका नाममा हुने हिंसात्मक अपराध कति भयावह हुन सक्छ भन्ने स्पष्ट देखाएको छ । अदालतको कडा फैसलालाई पीडित परिवारले न्यायको अनुभूति गर्ने आधारका रूपमा लिएका छन् भने फरार अभियुक्तको खोजी अझै जारी रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom