मंसिर १८ । महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव घटनाको नौ दिनपछि फेला परेको छ। भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ।
बिहान करिब ७ः४५ बजे दोधारा–चाँदनी नगरपालिका–४ का स्थानीय दीपक नाथले नदीकछिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले मृतकको परिचय पुष्टि गरी आवश्यक प्रक्रिया पूरा गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
रोशन दमाई गत मंसिर ९ गते साथीहरूसँग महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएकै दिनदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले निरन्तर खोजी गरे पनि तत्काल भेटाउन सकेका थिएनन्।
प्रहरीका अनुसार शव घटना स्थलभन्दा करिब तीन किलोमिटर दक्षिणतर्फ मालिका सामुदायिक वन नजिकको महाकाली किनारामा फेला परेको हो। कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।





