![]() |
| फाइल तस्वीर |
प्राप्त सूचनाका आधारमा मिति २०८२/०९/११ गते बिहान करिब ११ बजे जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले फेदीखोला गाउँपालिका–२ फेदीखोला बजारस्थित ‘गंगा एग्रोभेट पसल’ मा छापा मारेको थियो। सो क्रममा विक्री गर्ने उद्देश्यले लुकाइ–छिपाइ राखिएको २४.५ लिटर पेट्रोल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पसल सञ्चालक फेदीखोला गाउँपालिका–२ निवासी ४२ वर्षीय गंगा प्रसाद पौडेललाई नियन्त्रणमा लिएको हो। उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अनुसन्धानका क्रममा निज पौडेल यसअघि पनि अवैध रूपमा पेट्रोल बिक्री–वितरण गरेको कसूरमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट २० हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको तथ्य खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अत्यधिक प्रज्वलनशील पदार्थको अवैध कारोबारले जनधनको ठूलो क्षति हुन सक्ने भएकाले यस्ता गतिविधिमा संलग्नलाई कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ।






