मङ्सिर १८ । पाल्पा प्रहरीले ठूलो परिमाणको अवैध युरिया मल बरामद गर्दै एक ट्रकलाई नियन्त्रणमा लिएको छ। विना बिल–बिजक युरिया मल ढुवानी भइरहेको सूचनाका आधारमा प्रहरीले बगनासकाली गाउँपालिका–३, आर्यभाङ्ज्याङ्ग क्षेत्रमा लु.प्र.०१–००१ ख.९५९ नम्बरको ट्रक रोक्दै चेकजाँच गरेको थियो।
सिद्धार्थ राजमार्गमार्ग हुँदै स्याङ्जाबाट पाल्पा हुँदै बुटवलतर्फ गइरहेको ट्रकबाट १२० बोरा (करिब ६० क्विन्टल) युरिया मल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिनुभयो। मलका बोरामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर काठमाडौँ उल्लेख गरिएको थियो।
अवैध रूपमा ढुवानी भइरहेको ठहर भएपछि ट्रक, चालक र बरामद मललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी स्रोतले जनाएको छ।






