Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

साउदीमा एक सातामा १७ हजार ८८० पक्राउ,सयौँ नेपाली पनि कारबाहीको चपेटामा, ३४ जनाले पाए एक्जिट भिसा

रियाद, पुस ८ गते ।
साउदी अरेबिया सरकारले गैरकानुनी रूपमा बसोबास तथा रोजगारी गरिरहेका आप्रवासी कामदारविरुद्ध धरपकड अभियान तीव्र पारेको छ । साउदी गृह मन्त्रालयका अनुसार पछिल्लो एक साताको अवधिमा राज्यका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको संयुक्त सुरक्षा अभियानका क्रममा १७ हजार ८८० जना गैरकानुनी आप्रवासी पक्राउ परेका छन् ।

गृह मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको समन्वयमा गरिएको उक्त अभियानमा रेसिडेन्सी (आवासीय अनुमति) कानून उल्लङ्घन गर्ने ११ हजार १९०, सीमा सुरक्षा कानून उल्लङ्घन गर्ने ३ हजार ८०१श्रम कानून उल्लङ्घन गर्ने २ हजार ८८९ जना पक्राउ परेको जनाएको छ ।

साउदी सरकारले गैरकानुनी बसोबास, अवैध प्रवेश तथा श्रम कानून उल्लङ्घनलाई गम्भीर अपराधका रूपमा लिँदै आएको छ । साउदी कानूनअनुसार यस्ता अपराधमा संलग्नलाई १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्म जरिवाना, साथै अपराधमा प्रयोग भएका सवारी साधन तथा सम्पत्ति जफत गर्ने व्यवस्था छ । सरकारले कानुन उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्ने नीति लिँदै अभियानलाई अझ सशक्त बनाएको जनाएको छ ।

सयौँ नेपाली पनि पक्राउ, जेलपछि डिपोर्ट प्रक्रिया

पछिल्लो समय भिसाको म्याद सकिएपछि लुकिछिपी बस्दै आएका आप्रवासीलाई लक्षित गरी अभियान तीव्र पारिएसँगै सयौँ नेपाली कामदार पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहरूलाई हाल साउदीका विभिन्न जेलमा राखिएको छ । जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई स्वदेश फर्काइने बताइएको छ ।

३४ नेपालीले पाए बहिर्गमन भिसा

यसैबीच, साउदी अरेबियामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ३४ जना नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा इकामा नबनाइएका, नवीकरण नगरिएका वा ‘हुरूब’ लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि साउदी निकायसँग अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कन अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्ने व्यवस्था छ । बहिर्गमन भिसा नहुँदासम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासको अनुरोधपछि साउदी सरकारले यस्तो भिसा उपलब्ध गराउने प्रावधान छ ।

दूतावासले साउदीमा कार्यरत नेपालीहरूलाई इकामा समयमै नवीकरण गर्न, भिसा अवधि समाप्त भएपछि गैरकानुनी रूपमा नबस्न, र समस्या परेमा तुरुन्त दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom