Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

घरेलु झगडाले जघन्य रूप लिँदा तीन सन्तानकी आमाको मृत्यु




पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आशङ्कामा सासू र नन्द पक्राउ

 

सिन्धुलीमाढी, पुस ८ गते ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको आशङ्कामा मृतककी सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । घटनाले पारिवारिक हिंसाको भयावह रूप उजागर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार जारी गरेको विज्ञप्ति अनुसार मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी ४ः३० बजे घरको भान्सा कोठामा सुशीलाको शरीरमा पेट्रोल छर्की आगो लगाइएको थियो । घटनास्थल शङ्कास्पद देखिएपछि प्रहरीले सोही दिन सासू र नन्दलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार मृतकका बुवा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सोमबार किटानी जाहेरी दर्ता गराएका छन् । अदालतबाट पाँच दिनको म्याद थप लिई घटनाको सूक्ष्म अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकी मीना लामाले सुशीलामाथि पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । घटनास्थलबाट दुई बोतल पेट्रोल, जलेको अवस्थामा रहेको बोतल, लाइटर र बाँसको भाटामा सल बेरेर बनाइएको राँको (पुल्ठो) समेत बरामद गरिएको छ ।

उक्त घटनामा मृतकका ससुरा ६२ वर्षीय दुर्गामान बम्जन पनि आगोको लप्कामा परी दाहिने हात, खुट्टा र ढाडमा गम्भीर रूपमा जलेका छन् । उहाँको सिन्धुली अस्पतालमा प्रारम्भिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा थप उपचार भइरहेको छ ।

मृतक सुशीलाका सात वर्षका तिम्ल्याहा दुई छोरा र एक छोरी छन् । प्रहरीका अनुसार बोर्डिङ स्कुलबाट घर फर्किएका छोराछोरीलाई खाजा खुवाएर ट्युसन पुर्‍याएपछि घर फर्किएकी सुशीलामाथि घटना घटाइएको पाइएको छ । घटनाका बेला उनका श्रीमान् सूर्य बम्जन वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा थिए ।

घटनापछि आक्रोशित आफन्त र स्थानीयवासीहरूले मङ्गलबार जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन् । स्थानीयका अनुसार सुशीलाले आगो लगाइँदा बचाउ–बचाउ भन्दै चिच्याएको आवाज सुनेर छिमेकी पुगेका बेला घरको गेटमा ताल्चा लगाइएको थियो । भित्र आगो दनदनी बलिरहेको र नन्द मीना घरबाहिर उभिएको अवस्थामा देखिएको उनीहरूको भनाइ छ ।

स्थानीय तथा आफन्तले सुशीलामाथि विगत पाँच वर्षदेखि सासू, ससुरा र नन्दबाट निरन्तर मानसिक तथा शारीरिक यातना दिइँदै आएको आरोप लगाएका छन् । पछिल्ला दुई महिनायता नन्द मीनाले घर छोडेर नगए ज्यान मार्ने धम्की दिँदै आएकोसमेत खुलेको छ ।

प्रहरीले घटनालाई गम्भीर अपराधको रूपमा लिँदै सबै पक्षबाट प्रमाण संकलन र बयानका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom