Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

एकैदिन नौ वटा मृग मृत फेला, तोरीबारीमा छरेको विषादी सेवनको आशंका




मङ्सिर २० गते । नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एकैदिन नौ वटा मृग मृत भेटिएका छन् । सामुदायिक वन क्षेत्रमा भएको यो सामूहिक मृत्युका कारणले निकुञ्ज तथा स्थानीय निकाय दुवै सतर्क बनेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक तथ्यहरूले किसानले तोरीबारीमा छरेको विषादी सेवनका कारण मृग मरेकाको संकेत गर्छ । मृत मृगको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएकोले विषादी मिसिएको बाली खाएको सम्भावना प्रबल देखिएको हो।

मृग मर्नुको कारण एकिन गर्न सबैको पोष्टमार्टम गरिएको छ। चितवनमा विषादी परीक्षण प्रयोगशाला नहुँदा नमूना काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । चार–पाँच दिनपछि रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण पत्ता लाग्ने निकुञ्जले जनाएको छ।

सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै असर भएको आशंका व्यक्त गरेका छन् । मृत मृगमध्ये एउटा बच्चा समेत रहेको बताइएको छ। केही समयअघि आसपासका गाउँमा काउलीबारीमा अत्यधिक विषादी प्रयोग भएको भेटिएको र त्यसैको दोहोरिएर तोरीमा पनि अत्यधिक मात्रा प्रयोग भएको हुन सक्ने उनीहरूको भनाइ छ।

निकुञ्जबाट तारजाली क्षतिग्रस्त भई वन्यजन्तु बारीभित्र प्रवेश गर्ने क्रम बढेको पनि स्थानीयले बताएका छन्। यसै मार्गबाट गैँडा समेत गाउँतिर झर्दै आएका थिए। बाघको डरले मृग गैँडासँगै हिँड्ने गरेको र त्यही क्रममा कृषि बाली सेवन गर्ने जोखिम बढ्ने सचिव अधिकारीले बताए।

उनीका अनुसार तीन वर्षअघि पनि यही क्षेत्रमा १५ वटा मृग मृत फेला परेको थियो। लगातार हुने यस्ता घटनाले वन्यजन्तु संरक्षण, विषादी प्रयोगमा नियमन तथा किसान स्तरमै सचेतना अभाव गम्भीर समस्या बनेको देखिन्छ।

Top Post Ad

post bottom ads

Ads Bottom