आगामी निर्वाचन र सम्भावित सहकार्यबारे छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच भेटवार्ता भएको छ । सोमबार रास्वपाका एक नेताको कमलपोखरीस्थित निजी निवासमा उनीहरूबीच छलफल भएको हो ।
भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल र काठमाडौँ महानगर प्रमुख शाहका निकट सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी थिए । छलफलमा आगामी निर्वाचन, सम्भावित चुनावी सहकार्य तथा साझा राजनीतिक एजेन्डाका विषयमा विचार–विमर्श भएको बताइएको छ ।
स्रोतका अनुसार पछिल्लो समय रास्वपाले परम्परागत दलभन्दा फरक पहिचान बनाएका वैकल्पिक राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई प्राथमिकता दिँदै आएको छ । सोही रणनीतिको हिस्साका रूपमा काठमाडौँ महानगर प्रमुख शाहसँग भेटवार्ता गरिएको बुझिएको छ ।
रास्वपाले आगामी निर्वाचनमा नयाँ राजनीतिक गठजोडमार्फत प्रभावकारी उपस्थिति जनाउने रणनीति अघि सारेको देखिन्छ । बालेन शाहसँगको छलफल पनि त्यही रणनीतिक सिलसिलामा भएको नेताहरूको भनाइ छ । यद्यपि, भेटवार्तामा भएका सहमतिहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
उल्लेखनीय छ, रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेपछि अदालतको आदेशअनुसार धरौटी बुझाएर शुक्रबार मात्र रिहा भएका थिए । रिहाइपछि लामिछानेको यो पहिलो महत्त्वपूर्ण राजनीतिक भेटका रूपमा यसलाई हेरिएको छ ।
यस भेटवार्ताले आगामी दिनमा वैकल्पिक राजनीतिक धारबीच सहकार्यको सम्भावना बढ्ने कि नबढ्ने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढाएको छ ।






