Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा बढ्दै अवैध नदिजन्य सामग्री ओसार–पसार, तीन वटा ट्याक्टर प्रहरी नियन्त्रणमा





स्याङ्जा । पछिल्लो समय स्याङ्जा जिल्लामा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसार बढ्दै गएको पाइएको छ। स्थानीय खोलानालाबाट अनुमति बिना बालुवा, गिट्टी उत्खनन गरी विभिन्न स्थानतर्फ ओसार्ने क्रम तीव्र बनेसँगै प्रहरीले निगरानी बढाएको छ।

यसै क्रममा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसार भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी चौकी दहथुम तथा प्रहरी चौकी फेदिखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट ट्याक्टरहरू नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८२ साल पुस १४ र १५ गते जिल्लाका विभिन्न स्थानमा बालुवा तथा गिट्टी मिक्स लोड गरी ओसार–पसार गरिरहेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टरहरू यसप्रकार रहेका छन्:

  • ग. १ त. ४७९३ – २०८२/०९/१५ गते, पुतलीबजार नगरपालिका–१४, लामागे आँधिखोला क्षेत्रबाट बालुवा–गिट्टी मिक्स लोड अवस्थामा फेला
  • ग. १ त. ७३७१ – २०८२/०९/१४ गते, भीरकोट नगरपालिका–०४, सिम्ले क्षेत्रबाट बालुवा ओसार–पसार गर्दै गरेको अवस्थामा नियन्त्रण
  • ग. १ त. ६४९० – २०८२/०९/१५ गते, फेदिखोला गाउँपालिका–४, फेदिखोला क्षेत्रबाट बालुवा–गिट्टी मिक्स लोड अवस्थामा फेला

प्रहरीले नियन्त्रणमा लिइएका ट्याक्टरहरू आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि सम्बन्धित पालिकामा बुझाएको जनाएको छ।


ट्याक्टर ग. १ त. ४७९३ लाई अनुसन्धान तथा कारवाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको छ।


त्यसैगरी ग. १ त. ७३७१ लाई भीरकोट नगरपालिकाको कार्यालयमा बुझाई रु. २०,००० जरिवाना गरिएको छ भने ग. १ त. ६४९० सम्बन्धी विषयमा हाल कारवाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीहरूका अनुसार अवैध रूपमा खोलानालाबाट बालुवा तथा गिट्टी निकालिँदा वातावरणीय जोखिम बढ्नुका साथै खोलाको प्राकृतिक स्वरूपसमेत बिग्रँदै गएको छ। अनुमति बिना भइरहेको उत्खननले बाढी, कटान र कृषि जमिनमा असर पर्ने खतरा पनि बढेको स्थानीयको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको बताउँदै यस्ता कार्यमा संलग्न जो कोहीलाई कानूनअनुसार कारवाही गरिने स्पष्ट पारेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom