Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई यूथ अवार्डबाट सम्मानित




स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्ड बाट सम्मानित भएका छन्। युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच तथा स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै जेसीआई नेपालले ५२ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरेको हो।

नेपाल जेसीजले प्रत्येक वर्ष राजनीति, समाजसेवा, उद्यमशीलता, सुशासन र नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने युवाहरूलाई सम्मान गर्दै आएको छ। यही परम्पराअनुसार स्थानीय तहमा उदाहरणीय नेतृत्व प्रस्तुत गरेका अध्यक्ष तिवारी यस वर्षको जेसीआई यूथ अवार्ड का लागि छनोट भएका हुन्।

यसअघि अध्यक्ष तिवारी चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइनखबर द्वारा प्रकाशित ‘४० मुनिका ४०’ प्रभावशाली व्यक्तित्वको सूचीमा समेत समावेश भई सम्मानित भइसकेका छन्। देशभर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका प्रभावशाली युवाहरूलाई समेट्दै उक्त सूची सार्वजनिक गरिँदै आएको छ।

गुमनाम गाउँपालिकाबाट राष्ट्रिय पहिचानसम्म

पहिले गुमनाम र विकासका दृष्टिले पछाडि परेको अर्जुनचौपारी गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउने नेतृत्वको श्रेय अध्यक्ष तिवारीलाई जाने स्थानीयको भनाइ छ। सीमित स्रोत–साधनका बाबजुद स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना र जनसहभागितामूलक विकास मोडेलमार्फत उनले गाउँपालिकालाई विभिन्न राष्ट्रिय सम्मान र पुरस्कारका लागि योग्य बनाएका छन्।

नवग्रह मन्दिरदेखि सुशासनसम्म

अध्यक्ष तिवारी नेपालकै पहिलो नवग्रह मन्दिर का परिकल्पनाकारका रूपमा पनि परिचित छन्। धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनलाई एकीकृत गर्दै अघि सारिएको उक्त अवधारणाले गाउँपालिकाको पहिचान स्थापित गर्नुका साथै आन्तरिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उनको कार्यकालमा सुशासनलाई प्राथमिकतामा राख्दै प्रशासनिक पारदर्शिता, डिजिटल सेवा विस्तार तथा छिटोछरितो सेवा प्रवाहमा उल्लेखनीय सुधार गरिएको छ। शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गरिएको छ भने स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको पहुँच विस्तार गरिएको छ। साथै, सडक, खानेपानी, भवन निर्माणलगायत भौतिक पूर्वाधार विकासमा समेत उल्लेखनीय प्रगति भएको छ।

युवालाई प्रेरणा, गाउँपालिकालाई गौरव

जेसीआई यूथ अवार्डमार्फत प्राप्त सम्मानले स्थानीय तहमा युवाको नेतृत्व, नवीन सोच र प्रतिबद्धताबाट दिगो विकास सम्भव छ भन्ने सन्देश दिएको अध्यक्ष तिवारीले बताएका छन्। उनले यो सम्मान सम्पूर्ण अर्जुनचौपारी गाउँपालिकावासीको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार भएर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष तिवारीको यस उपलब्धिलाई अर्जुनचौपारी गाउँपालिकावासीले गौरवका रूपमा लिएका छन् भने यसले अन्य युवालाई पनि सार्वजनिक सेवा र नेतृत्वमा सक्रिय हुन थप प्रेरणा दिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom