औरही गाउँपालिका–३ पिपरामामा जन्मिएकी कपलेश्वरी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवकी कान्छी श्रीमतीका रूपमा घर प्रवेश गरेकी थिइन्। जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन्। २०३१ सालमा श्रीमान् निधन भएपछि उनी सहाराविहीन बनिन्।
माइती र नातेदारतर्फका दाजुभाइ सबैले वंशजको नागरिकता पाइसके पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिइन्। श्रीमान् बितेपछि अंशका लागि उनले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जितिन्। साढे ११ धुर जग्गा त प्राप्त गरिन्, तर त्यही जग्गाको लालपूर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि नागरिकता पाउन सकेकी थिइनन्।
७८ वर्षको उमेरमा नागरिकता पाएपछि भावुक हुँदै कपलेश्वरीले भनिन्, “अब ढुक्कले मर्छु। छोराछोरी छैनन्, सहारा दिने कोही थिएन। सरकारले दिने भत्ताले थोरै भए पनि औषधि र खाने खर्च पुग्नेछ। कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ।”
ढिलो भए पनि प्राप्त यो नागरिकताले कपलेश्वरीलाई आर्थिक राहत मात्र होइन, पहिचान र सम्मानको अनुभूति पनि दिलाएको छ।






