सीटी स्क्यान मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार प्रा.डा. भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। उनीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी तथा लेक्चरर डा. श्रीसिया पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
त्यसैगरी, अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह तथा हिमालय मेडिटेक प्रा.लि.का अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।
अख्तियारका अनुसार मुद्दा दायर गरिएका व्यक्तिहरूमध्ये कतिपयसँग एकल रूपमा र कतिपयसँग संयुक्त रूपमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो असुल उपर गरी कानुनअनुसार कारबाहीको माग गरिएको छ।
आयोगले खरिद आवश्यकताको पहिचान नगरी, खरिद गुरुयोजना तयार नगरी तथा आवश्यक तयारीबिनै खरिद प्रक्रिया अघि बढाइएको आरोप मुद्दामा उल्लेख गरेको छ।






