Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अवैध सिकारका क्रममा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ


जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–८ मा अवैध सिकारका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर सोही ठाउँका ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार प्रचण्डदेव सिंहसहित छ जना व्यक्ति पुस १३ गते बारेकोट–८ स्थित मिरिकोट खारा जङ्गलमा सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली लाग्दा सिंहको घटनास्थलमै शङ्कास्पद मृत्यु भएको हो ।

घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्दबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माका अनुसार पक्राउ परेकाहरूको साथबाट तीन थान नाल भरुवा बन्दुकसहित विभिन्न सामग्री बरामद गरिएको छ । बरामद सामग्रीमा सेतो प्लास्टिकको डिब्बामा राखिएको १३५.१८ ग्राम कालो धुलो पदार्थ (बारुद जस्तो देखिने), भरुवा बन्दुकमा प्रयोग हुने फलामजस्ता धातुका २१ थान टुक्रा तथा रातो प्लास्टिकको डिब्बामा राखिएका केक ११ थान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार घटनासम्बन्धमा कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना सम्बन्धी कसुर शीर्षकमा जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, प्रहरीले अवैध रूपमा राखिएका हातहतियार कानुन विपरीत रहेको भन्दै यस्ता हतियार नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom