फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन तालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय तोकिएको थियो।
निर्वाचन आयोगका अनुसार भक्तपुर क्षेत्र नं. २ मा दुई जना, सुनसरी क्षेत्र नं. २ मा एक जना, रौतहट क्षेत्र नं. १ मा एक जना र कैलाली क्षेत्र नं. १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। कानुनअनुसार निर्वाचनमा अयोग्य रहेको ठहर भएमा जो–कोहीले उम्मेदवारविरुद्ध दाबी–विरोध गर्न सक्ने व्यवस्था छ। उजुरी परेपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने र आवश्यक परे उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार राख्छ।
दाबी–विरोधको प्रक्रिया जारी रहँदै गर्दा निर्वाचनपछि सबैभन्दा संवेदनशील मानिने ‘मतगणना’लाई व्यवस्थित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०८२ लागू गरेको छ। आयोगका अनुसार यस निर्देशिकाले विगतका निर्वाचनमा देखिएका विवाद र अविश्वास हटाउने उद्देश्य राखेको छ।
मतदान प्रक्रिया अपेक्षाकृत सहज भए पनि मतगणनाका क्रममा विवाद र तनाव सिर्जना हुने घटना विगतमा पटक–पटक देखिएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना यसको उदाहरण हो। यस्ता घटनाले निर्वाचन प्रक्रियामै प्रश्न उठाएपछि आयोगले मतगणनालाई थप स्पष्ट, सुरक्षित र पारदर्शी बनाउने गरी नयाँ निर्देशिका ल्याएको जनाएको छ।






