Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमानाका ४८ घण्टा बन्द हुने


माघ २३ ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका मतदानको ४८ घण्टाअगावै बन्द गरिने भएको छ। उक्त निर्णय मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले गरेको हो।

सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार निर्वाचन अवधिमा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नाका बन्द गर्ने सहमति भएको हो। बैठकमा सीमा सुरक्षालाई सुदृढ बनाउने, सूचनाको आदान–प्रदान प्रभावकारी बनाउने तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

यसका साथै मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणका उपायहरूबारे पनि दुवै पक्षबीच समझदारी बनेको जनाइएको छ। सीमास्तम्भ संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषय पनि छलफलको एजेन्डामा समेटिएको थियो।

सीमाक्षेत्रका संवेदनशील नाकाहरू पहिचान गरी सम्भावित जोखिमको मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासी गतिविधिमाथि निगरानी बढाउने र विभिन्न तहमा नियमित जाँच संयन्त्र सञ्चालन गर्ने विषयमा पनि सहमति जुटेको सशस्त्र प्रहरीले जनाएको छ। आपराधिक समूहबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने तथा सीमावर्ती क्षेत्रमा मादक पदार्थको विक्री–वितरण र सेवनमा रोक लगाउने विषयमा समेत प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा दुई देशबीचको रेखामात्र नभई मित्रताको प्रतीक भएको उल्लेख गर्नुभयो। भारतीय एसएसबीका डिआइजी सरोजकुमार ठाकुरले आगामी दिनमा नेपाल–भारत सीमाक्षेत्रलाई अझ सुरक्षित र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकमा नेपालतर्फबाट नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारततर्फबाट डिआइजी सरोजकुमार ठाकुर, मन्जित सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको उपस्थिति रहेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom