Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अर्जुनचौपारीमा ‘प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता’ आयोजना हुने


स्याङ्जा, गण्डकी प्रदेश — अर्जुनचौपारी गाउँपालिकाले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्दै मौलिक संस्कार, संस्कृति र आध्यात्मिक मूल्यमान्यताको प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ।

गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा स्याङ्जा जिल्लाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी (संस्थागत) विद्यालयहरूलाई सहभागी हुन आह्वान गरिएको छ। प्रतियोगितामा प्रत्येक विद्यालयबाट अधिकतम १० जना विद्यार्थीहरूको एक समूह सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रत्येक समूहले १० मिनेटभित्र आफ्नो प्रस्तुति सम्पन्न गर्नुपर्नेछ।

गाउँपालिकाका अनुसार भजन प्रस्तुत गर्दा अर्जुनचौपारी गाउँपालिका तथा स्याङ्जा जिल्लाको धार्मिक पर्यटन प्रवर्द्धन, मौलिकता, आध्यात्मिक भावना र नैतिक सन्देशलाई प्राथमिकता दिनुपर्नेछ। साथै, स्थानीय संस्कृति र परम्परागत भजन–कीर्तन शैलीलाई विशेष जोड दिनुपर्ने बताइएको छ।

प्रतियोगिता २०८२ फागुन ३ गते बिहान १० बजेबाट नेपालकै पहिलो नवग्रह मन्दिर परिसर, अर्जुनचौपारीमा सञ्चालन हुनेछ। सहभागी हुन इच्छुक विद्यालयहरूले २०८२ फागुन १ गते कार्यालय समयभित्र गाउँपालिकाको कार्यालयमा आफ्नो टिम दर्ता गरिसक्नुपर्नेछ।

वाद्यवादनतर्फ मादल, जडी, मुजुरा र हार्मोनियमबाहेक अन्य आवश्यक सामग्री सहभागी समूहले स्वयं व्यवस्थापन गर्नुपर्नेछ। वाद्यवादनका लागि सम्बन्धित विद्यालयका अधिकतम दुई जना शिक्षक सहभागी गराउन पाइने व्यवस्था छ। विद्यार्थीहरूले भजनको गरिमा र स्थानीय संस्कृति झल्कने मौलिक तथा मर्यादित पोशाक वा विद्यालयको औपचारिक पोशाक लगाउनुपर्नेछ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रतियोगितामा व्यापक सहभागिताको अपेक्षा गर्दै जिल्लाका विद्यालयहरूलाई समयमै दर्ता गरी कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom