![]() |
तस्विर : गोरखापत्र |
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–११ स्थित हरियाली मार्गमा भाडाको कोठामा बस्दै आएकी यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर कुशल बुढा नाम गरेका आफ्नै छोराको हत्या गरेका हुन्। बालक कुशल कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत थिए।
प्रहरीका निमित्त प्रमुख रेसमलाल पौडेलले दिएको जानकारीअनुसार शव बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा गाडिएको अवस्थामा फेला परेको हो। सोमवार साँझ स्थानीय वृद्धहरूले गाई-भैँसी चराउन जाँदा दुर्गन्ध महसुस गरेपछि बालकको खुट्टा जमिनबाहिर देखिएको थियो। स्थानीय जनप्रतिनिधि मार्फत जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान गर्दा सौतेला बुवा र आमाले मिलेर हत्या गरी शव गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकका बुबाको पहिल्यै निधन भइसकेको थियो र उनकी आमा यशोदाले दुल्लु नगरपालिका–१० का निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन्।
प्रहरी अनुसन्धान अनुसार, आमा-बुवाले हत्या गरिसकेपछि वैशाख ८ गते बालक हराएको भनी प्रहरीमा नक्कली निवेदन दिएका थिए। त्यसपछि खोजतलासमा उनीहरूको चासो नदेखिएको र घटनालाई ढाकछोप गर्ने प्रयास देखिएकाले शङ्का गर्दै अनुसन्धान अघि बढाइएको थियो।
बालकका हजुरबुबा–हजुरआमाले पनि प्रहरीले सो घटनामा संलग्न भएको भन्दै निवेदन दिएका थिए।
हाल दुबै आरोपीलाई जिल्ला अदालत बाँकेमा पेस गरी पाँच दिनको म्याद थप गरेर कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।