वैशाख १७ — मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित अघोरमा एक व्यक्तिलाई आफ्नै छोराले चलाएको भरुवा बन्दुकको छर्राले घाइते बनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ५९ वर्षीय कान्छाराम थिङ आफ्ना छोरा ३५ वर्षीय ईमान सिंह थिङको भरुवा बन्दुक प्रहारबाट घाइते भएका हुन्। उनीहरू छुट्टिएर बस्दै आए पनि आँगन एउटै रहेको र बुधबार बिहान ८ बजेतिर कुखुरा आँगनतर्फ आएको विषयमा विवाद भएपछि गोली प्रहार भएको बताइएको छ।
प्रहरीका अनुसार भरुवा बन्दुकको छर्राले लागेर कान्छारामको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा चोट लागेको छ। घाइतेको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार इमान सिंहलाई इजाजतपत्रबिना एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





