गोरखा, वैशाख २७ — गोरखा सदरमुकाम नजिकै रहेको दरौंदी नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। बारपाक सुलिकोट गाउँपालिका–८, पन्द्रुङ, गैरीछाप घर भई हाल गोरखा आएका २३ वर्षीय आयुष गुरुङको शुक्रबार बेलुका मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, आयुष शुक्रबार दिउँसो ४:३० बजे गोरखा नगरपालिका–१० स्थित छेवेटार बजार छेउको दरौंदी नदीमा आफ्ना साथीहरूसँग पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका गुरुङको शव साँझ ७:३० बजे फेला परेको हो।
घटनापछि खोजी कार्यमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको गहिरो भागबाट शव निकालेको थियो। मृतक गुरुङको शव हाल गोरखा अस्पतालको शवगृहमा राखिएको छ।
शवको पोष्टमार्टम र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो।





