Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालयमै यातना : शिक्षकको कुटाइबाट पाँच विद्यार्थी घाइते, अभिभावक आक्रोशित



तनहुँ, जेठ ११ — तनहुँको भानु नगरपालिका–२ स्थित नारेश्वरटारको सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँचजना विद्यार्थी शिक्षकको कुटपिटबाट घाइते भएका छन्। कक्षा ६ मा अध्ययनरत अस्मृति बिकसहित अन्य चार जना विद्यार्थीलाई सहायक प्रधानाध्यापक निराजन भट्टले कुटपिट गरेका हुन्।

अस्मृतिको देब्रे हात मर्किनुका साथै औंला भाँचिएको र पिठिउँमा निलडाम देखिएको उनका अभिभावकले जानकारी दिएका छन्। घटनापछि छोरीले खाना खान छोडेर ओछ्यानमा चुपचाप सुतेको देखेर शंका उत्पन्न भएको र साथीसँग सोधपुछ गर्दा कुटपिटको घटना खुलेको आमा राममाया सुनारले बताइन्।

"शिक्षकको डरले केही नभनेकी थिइन्, तर साथीमार्फत थाहा पायौँ," उनले भनिन्, "अब उपचारका साथै दोषी शिक्षकमाथि कारबाही हुनु आवश्यक छ।"

घाइते विद्यार्थी अस्मृतिले पनि शिक्षकले झगडाको कारण देखाउँदै लौरीले बेस्सरी कुटेको बताइन्। "साथीसँग सामान्य भनाभन भएको थियो, सरले केही नसोधीकन कुट्न थाल्नुभयो," उनले भनिन्।

अस्मृति बिकसहित सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङ पनि कुटपिटबाट घाइते भएको बताइएको छ।

तर, अर्कोतर्फ शिक्षक निराजन भट्टले आफूले सामान्य सजाय मात्र दिएको दाबी गरेका छन्। “झगडा गरेकाले सामान्य रूपमा अनुशासन सिखाउन खोजेको हुँ, गम्भीर चोट हुने गरी कुटेको होइन,” उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनराज दाहालले अभिभावकको गुनासोपछि सोमबार आपतकालीन बैठक बोलाइएको बताए। “घटना गम्भीर देखिएको छ, सत्यतथ्य छानबिन गरी आवश्यक निर्णय गरिनेछ,” उनले बताए।



Top Post Ad

post bottom ads

Ads Bottom