बाजुरा, जेठ १३ – बाजुराको जगन्नाथ गाउँपालिकामा आज भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका निवासी तथा हाल नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, ४० वर्षीय चालक करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिपमा सवार अन्य दुई जना घाइते भएका छन्। उनीहरूको उपचार कोल्टीस्थित आधारभूत अस्पतालमा भइरहेको छ।
नेपाल टेलिकमको टावरमा सोलार प्यानल जडान गर्न पिलुचौरबाट गइरहेको जिप सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।