रुकुमपश्चिम – ९ जेठ, २०८२
रुकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। विद्युत मर्मतको क्रममा करेन्ट लागेर ज्यान गुमाउने व्यक्ति रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ निवासी २९ वर्षीय खिमबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी ऋषि पाठकका अनुसार, बिहीबार राति मुसीकोट नगरपालिका–४ स्थित बोहरागाउँमा विद्युत मर्मतको क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको हो। करेन्ट लागेपछि उनी घटनास्थलमै ज्यान गुमाएका थिए।
खड्का नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत थिए। विद्युत अवरुद्ध भएपछि मर्मत गर्न खटिएका उनी पोलमा चढ्ने क्रममा नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोएपछि करेन्ट लागेको बताइएको छ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रिपोर्टिङ: ब्राइटर खबर
मिति: २०८२ जेठ ९





