काठमाडौं, वैशाख १९ – देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यिनै कारणले गर्दा आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि यस्तै अवस्था रहने पूर्वानुमान गरिएको छ।
रातिको मौसम पूर्वानुमान अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ।
यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
महाशाखाले सम्भावित चट्याङ, वर्षा तथा हिमपातलाई मध्यनजर गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ।





