दार्चुला, ९ जेठ – अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा संकलनका लागि शिक्षक, विद्यार्थी, अभिभावकसमेत लेकतिर लागेपछि विद्यालयहरू बन्द भएका छन्। गाउँपालिकाका सबै सामुदायिक विद्यालय २० दिनका लागि बन्द गरिएका हुन्।
शिक्षा शाखा अधिकृत वीरेन्द्रसिंह साउदका अनुसार यार्सा संकलनको सिजन सुरु भएकाले जेठ ४ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गरिएको हो। उनले बर्खे विदासँग मिलान गरेर विद्यालय बन्द गरिएको जानकारी दिए।
गाउँपालिकाभरिका २४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सागुम्बा संकलन गर्न अभिभावकसँगै लेक जाने गरेका छन्। यहाँ हरेक वर्ष यही समयमा जडीबुटी संकलन मुख्य प्राथमिकता बन्ने गर्छ। यार्सा संकलन नै यहाँको प्रमुख आय स्रोत भएकाले केही घरमा त ताल्चा लगाएरै लेकतिर गएकाहरू छन्।
स्थानीय गगनसिंह लोथ्याल भन्छन्, “वर्षभरिको कमाइ यही हो। बालबालिकालाई लिएरै जानुपर्छ, नत्र पढाइ खर्च कसरी जुटाउने?” अन्न उत्पादनले वर्षभरि नपुग्ने भएकाले यार्साबाट आम्दानी गरेर जीवन धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययनरत नौगाडका खडकसिंह धामी पनि यार्साको जोहो गर्न अपी हिमाल पुगेका छन्। “हाल पढाइ मात्रै गरेर हुँदैन, घरमा जागिर छैन, पैसा कमाउनु पनि जरुरी छ,” उनले भने।
जिल्लामा सबैभन्दा बढी संकलन हुने ठाउँहरूमा लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, चाइमटे, अपिफेद, दोपाखे, दुधिवन लगायत रहेका छन्। जिल्लाबाट हरेक वर्ष ५ देखि ७ क्विन्टल यार्सागुम्बा निकासी हुने गरेको छ।