कालीकोट, जेठ ४ गते – कालीकोट जिल्लाको विभिन्न वन क्षेत्रमा चितुवा र पाटेबाघको सक्रियता बढेसँगै स्थानीयवासी त्रसित भएका छन्। शुक्रबार राति पलाँता गाउँपालिका–८ स्थित हिउँटाला हिउँचुली सामुदायिक वनमा चराइएका करबहादुर बमका सात वटा बाख्रा चितुवाले मारेको अवस्थामा भेटिएका छन्।
बाख्रा खोज्न गएका परिवारजनले वन क्षेत्रमा यत्रतत्र छरिएका मृत बाख्रा देखेका थिए, जसमा एक बाख्राको भित्री भाग खाइएको र अन्यको रगत मात्र चुसेर मारेको देखिएको थियो। जिल्ला वन कार्यालयका फरेस्ट्री टक्कबहादुर बमका अनुसार, हाल कालीकोटका अधिकांश सामुदायिक वन क्षेत्रमा बाघ र चितुवा फैलिएका छन्, जसले कतै गाईगोरु त कतै बाख्रालाई निशाना बनाइरहेका छन्।
गत वर्ष रास्कोटको वड्लालको वनमा चितुवा मरेको अवस्थामा भेटिएपछि ती वन क्षेत्रमा बाघ रहेको पुष्टि भएको थियो। अहिले कर्णाली कोरिडोर आसपास र सडकसम्म पनि बाघ देखिन थालेपछि स्थानीय किसान र गोठालाहरूमा थप चिन्ता बढेको छ।
वन कार्यालयले वनतर्फ जाँदा सावधानी अपनाउन र सतर्कता बढाउन आग्रह गरेको छ।





