स्याङ्जा, वैशाख २३ – स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–३ स्थित आग्रीखर्कमा रहेको कुल मन्दिरमा शाण्डिल्य गोत्रीय काफ्ले समुदायले परम्परागत कुल पूजा मंगलबार विधिपूर्वक सम्पन्न गरेका छन्। प्रत्येक तीन वर्षको अन्तरालमा गरिने यस कुल पूजालाई समुदायले विशेष धार्मिक र सांस्कृतिक महत्वका साथ मनाउने गर्दछन्।
गाउँका स्थानीय बासिन्दा मात्र होइन, देशका विभिन्न भागबाट आएका काफ्ले बन्धुहरूको सहभागिताले यो पूजालाई अझ भव्य बनाएको थियो। बाजागाजा, पूजापाठ र विशेष सांस्कृतिक कार्यक्रम सहित कुल पूजा सम्पन्न भएको हो। यस पूजामा धामीहरूले विशेष किसिमको परम्परागत नृत्य प्रस्तुत गरेका थिए, जसले पूजाको माहोललाई थप धार्मिक र सांस्कृतिक रंग दिएको थियो।
पूजामा बोकापाठाको बलि दिने परम्परा लामो समयदेखि चलिआएको छ। यस बाहेक, खिर, हलुवा र बाख्रीको प्रसाद विशेषगरी धामीहरूलाई दिने प्रचलन रहेको छ। यसले समुदायभित्रको धार्मिक आस्था र सामाजिक एकताको झल्को दिने गर्दछ।
कुल पूजा काफ्ले समुदायको साझा चाड मात्र नभई आफ्ना पूर्वजप्रति श्रद्धा प्रकट गर्ने अवसरका रूपमा समेत लिइन्छ। यस्ता पूजाले नयाँ पुस्तालाई आफ्ना मौलिक संस्कृति र परम्पराबाट अवगत गराउने कार्य पनि गरिरहेको सहभागीहरूको भनाइ थियो।
समुदायको एकता, परम्परा र धार्मिक आस्थालाई जगेर्ना गर्न यस्ता सांस्कृतिक कार्यक्रमहरु निरन्तर आयोजना गरिनु आवश्यक रहेको सहभागीहरूले बताए।