वैशाख १९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को माध्यामिक शिक्षा उत्र्तीण परीक्षा (एसईई) तोकिएको नयाँ मितिअनुसार यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षाको तयारी पूर्ण भएको र अब परीक्षा तोकिएको समयमै सम्पन्न गरिने जनाएको हो।
यसअघि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण वैशाख ११ बाट सुरु हुने भनिएको परीक्षा सारिएको थियो। हाल महासङ्घसँग सहमति भएपछि परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी अनधिकृत सूचना फैलाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै बोर्डले परीक्षार्थी, अभिभावक र सरोकारवालालाई त्यस्ता भ्रामक प्रचारप्रति सजग रहन अनुरोध गरेको छ। साथै, बोर्डले आफ्नो कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र सबै सूचना केवल आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक हुने स्पष्ट पारेको छ।
बोर्डले एक सूचना जारी गर्दै परीक्षा मर्यादित र निष्पक्ष ढंगले सम्पन्न गर्न सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।





