सल्यान, जेठ १२ — सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ, भने अन्य आठ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–५ रिमकी ६२ वर्षीया भिमा बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो। उहाँको नेपालगञ्जस्थित नर्सिङ होममा आइतबार दिउँसो करिब १ बजे उपचारकै क्रममा निधन भएको हो।
दुर्घटना सल्यान–दाङ जोड्ने वैकल्पिक मोटरबाटो कपुरकोट–लामीडाँडा–सातबास सडकखण्डअन्तर्गत कपुरकोट–३ मा भएको हो। लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट खस्दा जिपमा सवार नौ जना घाइते भएका थिए।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेहरूमा ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहरा रहेका छन्। उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ।
त्यस्तै, सामान्य घाइते भएका ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महताराको उपचारपछि उनीहरू घर फर्किएको प्रहरीले जनाएको छ।