उदयपुर, वैशाख २८ – जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्रसनि) विरोध खतिवडाको सवारी दुर्घटनामा मृत्यु भएको छ। शनिबार बिहान मोरङको बिराटनगर जाँदै गर्दा सुनसरीको दुहबी नगरपालिका–६ स्थित दुहबी बजारमा सवार भ्यान दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।
दुर्घटना बिहान ११:५० बजे भएको हो। अनियन्त्रित भएर सडक किनाराको रेलिङमा ठोक्किएको भ्यान दुर्घटना भएपछि खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए, जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्रनाउ) केदारमान दोङले जानकारी दिए।
उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबासका ३० वर्षीय खतिवडा चढेको भ्यान प्रदेश २–०१–च–०२५१ को चालक ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी पनि घाइते भएका छन्। उनीहरूलाई समेत विराट टिचिङ अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
स्व. खतिवडा काठमाडौंस्थित नारायणहिटी सुरक्षा गुल्ममा दरबन्दी भई हाल उदयपुर जिल्ला प्रहरी कार्यालय गाईघाटमा खटिएका थिए। परिवारको इच्छानुसार पोष्टमार्टमपछि शवलाई गाईघाट ल्याइएको प्रहरीले जनाएको छ।





