![]() |
| फाइल तस्विर |
काभ्रेपलाञ्चोक, वैशाख २८ – काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, आज बिहान इन्द्रावती खोलाबाट बालुवा बोकेर पाँचखालतर्फ आउँदै गरेको बा ४ ख ३३६३ नम्बरको टिपर राजमार्गको उकालोमा ‘ब्याक’ भई अनियन्त्रित भएर करिब १०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो। दुर्घटनामा परी नुवाकोटको सूर्यगढी गाउँपालिका–७ निवासी ४७ वर्षीय लवकुश अधिकारीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
यसअघि पनि यही क्षेत्रमा यस्तै दुर्घटना भएको थियो। गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित एक निर्माणाधीन होटलको कम्पाउन्डमा बालुवा अनलोड गर्न गएका बा २ क ३४६४ नम्बरको टिपर डिलबाट झरेर दुर्घटनामा परेको थियो। सो घटनामा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





