नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ सगरमाथा टोलस्थित एक पोखरीमा दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्। आज बिहान घरमा खाना खाएर निस्किएका ती बालकहरू साँझ करिब ५ बजेतिर पोखरीमा डुबेको अवस्थामा भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार मृतकहरू १० वर्षीय विप्सन कवंर र ८ वर्षीय दिप्सन कवंर हुन्। उनीहरू सुनवल–६ पुलटोलका स्थानीय विष्णु कवंरका छोरा हुन्।
स्थानीयबासीले साँझ एक बालकको शव पोखरीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल नजिकै बालबालिकाको कपडा फेला परेपछि अर्काे बालक पनि डुबेको हुनसक्ने अनुमानसहित खोजी सुरू गरिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा पोखरीभित्र खोजतलास गर्दा दोस्रो बालक पनि मृत अवस्थामा फेला परेका थिए।
दुबै बालक जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत थिए, विप्सन कक्षा ४ मा र दिप्सन कक्षा २ मा पढ्दै आएका थिए।





