![]() |
| सांकेतिक तस्विर |
स्याङ्जा, वैशाख १७ — स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१२, पेल्काचौर सिम्लेमा गोरू काटेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय टेक उर्फ डम्बर बहादुर गुरुङ रहेका छन्।
गोप्य सूचनाका आधारमा वैशाख १६ गते साँझ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गुरुङले आफ्नै घरमा पालेको गोरूलाई घरनजिकैको बारीमा फलामको घनले टाउकोमा प्रहार गरी मारेको र मासु काटी टुक्राटुक्रा पारी त्रिपालले बेरी लुकाएर राखेको अवस्थामा फेला पारेको थियो। घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले वैशाख १७ गते दिउँसो १२ बजे आफ्नै गाउँमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउसँगै प्रहरीले घटनास्थलबाट गोरू काट्न प्रयोग गरिएका काठको बिँड जडित फलामका दाउ, चक्कु, छुरी, हँसिया, धार बनाउने स्लिप ढुङ्गा तथा मासु राख्न प्रयोग गरिएको प्लास्टिकको बोरा बरामद गरेको छ।
पशुपक्षीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।





