घटनापछि सडकमै पानी जमेर दह बनेको छ भने गाडी अझै दृश्यमा आएको छैन। गाडी हराएको स्थानको आसपासमा पोखरी र बोरिङ रहेकाले जमिन कमजोर भई भासिएको हुन सक्ने अनुमान गरिएको छ।
हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्यालले घटनास्थलको स्थलगत अनुगमन गर्नुभएको छ। घटनालाई गम्भीर रुपमा लिँदै नगरपालिकाले भूगर्भविद् ल्याएर अनुसन्धान गर्ने तयारी गरेको छ।
उपप्रमुख बानियाले नजिकैको बोरिङले जमिनको संरचना कमजोर बनाई भासिएको हुन सक्ने बताउनुभयो। सरोकारवाला निकायहरूलाई पत्राचार गरिसकेको भन्दै उहाँले छानबिनलाई तीव्रता दिने जानकारी दिनुभयो।
हाल घटनास्थलमा निरन्तर पानी निकाल्ने र गाडी खोज्ने काम भइरहेको छ तर आइतबार साँझसम्म गाडीको अत्तोपत्तो लाग्न सकेको छैन।