म्याग्दी, जेठ २ गते – म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक दम्पतीले मिलेर आफ्नै घरमा काम गर्ने मजदुरको निर्मम हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार ५७ वर्षीय बलबहादुर दमाई र उनकी श्रीमती कर्मती दर्जीले ४६ वर्षीय मनबहादुर दमाईको हत्या गरेका हुन्।
मृतक मनबहादुर बलबहादुरकै घरमा मजदुरीको काम गर्दै आएका थिए। गत वैशाख २८ गते स्थानीयले बेवारिसे शव देखेपछि इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानमा शरीरमा बाउसो (कुदाल) प्रहार गरी हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
हत्या घरमै गरेर शव करिब ७ सय मिटर तल फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो। घटनास्थलमै हत्या गरिएको वा लगेर फालेको भन्ने बारेमा थप अनुसन्धान जारी रहेको छ। दम्पतीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





