असार १ गते, पाँचथर। मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा गम्भीर घाइते भएका तीन मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ती मजदुरहरूलाई प्रारम्भिक उपचारपछि मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
पाँचथर अस्पतालका अनुसार प्रारम्भिक अवस्थामा बाहिरी चोट नदेखिए पनि ती मजदुरहरू अचेत र बोल्न नसक्ने अवस्थामा थिए। घटनामा अन्य तीन जना घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
२०७८ साल असोज १२ गते आएको बाढीले यस स्थानको पुरानो बेलिब्रिज बगाएको थियो। त्यसपछि नयाँ बेलिब्रिज जडानको काम भइरहेको क्रममा यो दुर्घटना भएको हो। जडान नसकिँदै बेलिब्रिज भत्किएको र त्यस क्रममा काममा खटिएका ६ जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ।
घटनास्थल हेवा खोला फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमाक्षेत्रमा पर्दछ।
हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।