काठमाडौँ, जेठ ३१। चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै एक माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा २० जना यात्रु घाइते भएका छन्।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको माइक्रोबस आज अपराह्न दुर्घटनामा परेको हो। उक्त सवारीमा चालक र सहचालकसहित २० जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पताल पुर्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
दुर्घटनामा चार जना बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
हाल घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।