मेल्लेखतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जिप अचानक अनियन्त्रित भई करिब २५० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनास्थलबाट प्राप्त जानकारी अनुसार घटनामा सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया हरुदेवी विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । मृतक काली कटुवाल गर्भवती रहेको पुष्टि भएको छ ।
हरुदेवी विक र चालक सुरेश कार्कीको घटनास्थलमै ज्यान गएको हो भने काली कटुवालको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी ९ वर्षीया छोरी सविता कटुवाल घाइते भएका छन् । उनीहरूको डोटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभएको छ ।