Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी गाउँपालिकाको ४५ करोडको बजेट: पूर्वाधार, शिक्षा र स्वास्थ्यमा विशेष जोड


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ३७ लाख १० हजार ६ सय ५३ रुपैयाँको बजेट पारित गरेको छ । 


गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशनमा अध्यक्ष प्रकाश तिवारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष सपना गुरुङले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष गुरुङका अनुसार चालू खर्चतर्फ ३२ करोड ७ लाख २० हजार रुपैयाँ (७०.६८ प्रतिशत) र पूँजीगत खर्चतर्फ १३ करोड २९ लाख ९० हजार ६५३ रुपैयाँ (२९.३२ प्रतिशत) विनियोजन गरिएको छ । 

बजेटको मुख्य स्रोत अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३२ करोड ९ लाख ८९ हजार रुपैयाँ र आन्तरिक राजस्व तथा राजस्व बाँडफाँडबाट १३ करोड २७ लाख २१ हजार ६५३ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।


गाउँपालिकाले पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई आगामी वर्षको उच्च प्राथमिकता दिएको छ । वडा कार्यालयहरू सदरमुकामसँग जोड्ने पक्की सडक विस्तार तथा प्रमुख सडकको स्तरोन्नतिका लागि ७ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, स्वास्थ्य, शिक्षा, वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा १ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


गाउँपालिका क्षेत्रभित्र सञ्चालन भइरहेको आँखा उपचार केन्द्रलाई थप सेवा विस्तारका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । विपन्न वर्गका लागि जीविकोपार्जन सुधार कार्यक्रम र आमा समूहका मागमा आधारित कार्यक्रमहरूका लागि गरी १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्न नेपालकै पहिलो नवग्रह मन्दिर हुँदै मुक्तिनाथधाम पुग्ने छोटो दुरीको अर्जुनचौपारी–आग्रीखर्क–पर्वत–बाग्लुङ–मुक्तिनाथ सडक निर्माण तथा स्तरोन्नतिका लागि प्रदेश सरकारसँगको साझेदारीमा ४ करोड रुपैयाँ छुट्याइएको छ ।


गम्भीर दीर्घरोग, जस्तै मृगौला रोग, क्यान्सर, मेरुदण्ड पक्षघात जस्ता रोगबाट पीडितहरूलाई औषधि तथा उपचार खर्चका लागि समेत विशेष बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।


त्यस्तै, खेलकुद क्षेत्रको विकास र स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्नका लागि वडा नम्बर ५ स्थित थाप्ले क्रिकेट मैदान स्तरोन्नति तथा प्रदेशस्तरीय गण्डकी टी–टेन क्रिकेट लिग आयोजनाको लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom