झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तेह्रथुमको जिरीखिम्ती स्थायी घर भई हाल अर्जुनधारा–११ निवासी पूर्णबहादुर राईको पाहुना रहेका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्। उनीहरू आपसमा दाजुभाइ भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार बालकहरू आज बिहान ८ बजे पोखरीमा पौडी खेल्न गएका थिए। केही समयपछि उनीहरू डुबेको थाहा पाएपछि स्थानीय बासिन्दाले उद्धार गरी तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याएका थिए।
तर, दुर्भाग्यवश चिकित्सकहरूले बिहान करिब ८:३० बजे नै दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेका थिए।
हाल दुवै बालकको शव अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।