काठमाडौँ, जेठ २७ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय एकपछि अर्को गरी विभिन्न सरकारी निकायका पूर्वपदाधिकारी र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपालिकाका पूर्वइन्जिनियर रामबाबु महतो कोइरी, रौतहटका पूर्वप्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित पाँच जना, र पर्साका एक शिक्षक चन्देशकुमार चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बैंकका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथि तीन वटा मुद्दा
नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बैंकबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै तीन फरक व्यापारिक समूहबाट घुस लिएको आरोपमा तीन वटा भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगका अनुसार रुपन्देहीको भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई ऋण प्रवाह गरिदिएबापत १९ लाख, तनहुँको अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण गराइदिएबापत ५० लाख, र काठमाडौंका हिमाल–तराई कन्स्ट्रक्सनलाई ऋण प्रवाह गरिदिने बहानामा ५ लाख घुस लिएको अभियोग छ। अधिकारीको घरबाट घुस रकम लिएको प्रमाणसहितको कागजात समेत फेला परेको आयोगले जनाएको छ।
पूर्वइन्जिनियर रामबाबु महतो कोइरीमाथि चार करोडभन्दा बढीको भ्रष्टाचार आरोप
काठमाडौँ महानगरपालिकाका पूर्वइन्जिनियर रामबाबु महतो कोइरीमाथि चार करोड ५८ लाख ९७ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ।
आयोगका अनुसार २०४६ देखि २०७९ सम्म सार्वजनिक पदमा रहँदा वैध स्रोतबिनाको सम्पत्ति आर्जन गरेको पाइएपछि कारबाही माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
रौतहटका पाँच जना कर्मचारी र व्यवसायीमाथि मुद्दा
रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित पाँच जनाविरुद्ध किसानलाई वितरण गरिने स्प्रे ट्याङ्की खरिदमा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।
बोलपत्र प्रकाशन नगरी झुटो कागजात तयार गरी रकम निकासा गरेको पाइएपछि सहलेखापाल नवीनकुमार यादव, पत्रकार ओमप्रकाश यादव, प्रकाशक रुपेन्द्र पटेल, र जनसवाल प्रालि तथा त्यसका सम्पादक रामजी बगालेमाथि समेत भ्रष्टाचार मुद्दा चलाइएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा शिक्षकविरुद्ध मुद्दा
पर्सा जिल्लास्थित रामदेनी आधारभूत विद्यालयका निम्नमाध्यमिक तहका द्वितीय श्रेणीका शिक्षक चन्देशकुमार चौहानमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी रोजगारीमा लागेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगले सबै प्रतिवादीविरुद्ध आ-आफ्नो संलग्नताअनुसार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कडा कानुनी कारबाही माग गरेको छ।
📝 ब्राइटर खबरका लागि
✉️ सम्पर्क: editor@brighterkhabar.com
🌐 थप जानकारी: www.brighterkhabar.com