काठमाडौँबाट नेपालगञ्जतर्फ गइरहेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार विनयी खोलाको नयाँ डाइभर्सन हुँदै गुडिरहेको बसलाई एक्कासी आएको बाढीले बगाएको हो ।
“नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगायो, तर तत्कालै एक्साभेटरको सहयोगमा बस रोकेर तीन शिशुसहित ३८ जना सबै यात्रुको सकुशल उद्धार गरिएको छ,” प्रहरी निरीक्षक तिमिल्सेनाले बताउनुभयो ।
अझैसम्म बस खोलाबाट निकाल्न सकिएको छैन भने यात्रुको सामान के कति बगेको छ भन्नेबारे यकिन जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । लगातार वर्षाका कारण नारायणघाट–बुटवल सडकखण्ड अहिले पूर्णरुपमा अवरुद्ध छ ।
सडक डिभिजन कार्यालय र सुरक्षाकर्मीहरू खोलामा फसेको बस हटाउने प्रयासमा जुटिरहेका छन् । यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।