Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सार्वजनिक बसभित्र पाकेटमार सक्रिय : तीन जना पक्राउ, तीन लाख पचास हजार नगद लुटपाटको आरोप

गोरखा, असार १० –
गोरखा प्रहरीले सार्वजनिक यातायातमा यात्रा गरिरहेका यात्रुहरूलाई लक्ष्य गरी पाकेटमार गर्ने गिरोहका तीन जनालाई नियन्त्रणमा लिएको छ। सार्वजनिक बसमा यात्रुहरूका गरगहना र नगद लुटपाट गर्ने गिरोहविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखाले छानबिन गर्दै तीन जना आरोपितलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा गोरखा शहीदलखन गाउँपालिका–४ ताक्लुङ घर भई हाल चितवन रत्ननगर नगरपालिका–११ सितलटोल बस्ने ४९ वर्षीय दीपक परियार, सोही स्थानका ३५ वर्षीय आशिक भूजेल र भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४३ वर्षीय दान नारायण श्रेष्ठ रहेका छन्।

पक्राउ परेकामध्ये श्रेष्ठलाई चितवनस्थित निजकै निवासबाट नियन्त्रणमा लिइएको हो भने परियार र भूजेललाई गोरखा सदरमुकामको लक्ष्मीबजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

उनीहरूलाई ०८१ साल फागुन ८ गते गण्डकी गाउँपालिका–२ निवासी ७१ वर्षीय गिरीराज पन्तको एक लाख नगद, ०८२ जेठ ७ गते हरमटारी बस्ने ८२ वर्षीय गंगाबहादुर श्रेष्ठको दुई लाख नगद तथा ०८२ जेठ ११ गते शहीदलखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरको ५० हजार नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको हो।

तीनै घटना सार्वजनिक बसमा यात्रा गर्ने क्रममा भएका थिए। पीडितमध्ये दुई जना भारतीय पेन्सन क्याम्पबाट पेस्की लिएर फर्किंदै गर्दा लुटिएका थिए। प्रहरीका अनुसार, पक्राउ परेका तीनै जनाले चोरीको आरोप स्वीकार गरेका छन्।

प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ। हाल उनीहरू प्रहरी हिरासतमा छन्।

प्रहरीले सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरूलाई सचेत रहन पनि आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom