Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रदेश सभा सदस्य ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 

जेठ २७ गते। मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका आर्थिक वर्ष २०७७/०७८ को स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम बमोजिम धनुषा औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख ५२ हजार ६५० रुपियाँ बराबरको लागत अनुमान तयार भइ मिति २०७८ वैशाख १७ गते बोलपत्र आव्हान भएको थियो। 


प्रवक्ता पौडेलका अनुसार सो आह्वान २०७८ जेठ २३ गतेसम्म रहने गरी सात दिन म्याद थप गरिएकोमा प्रतिवादीको मिलेमतोमा बदनियत राखी २०७८ जेठ ३१ गतेसम्म रहने गरी आठ दिन म्याद थप गरिएको थियो।


आयोगका अनुसार १५ वटा बोलपत्रदातामध्ये १३ वटा बोलपत्रदाताको बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा असफल गरे गराएको तथा डि एण्ड एन जेभी र समानन्तर÷बबुल जे भी ले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा मिति २०७८ जेठ ३०  गते बोलपत्र पेस गरे गराएको देखिएको छ।


औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, वडा नम्बर १ का वडाअध्यक्ष आशेव्र यादव, तत्कालीन वडा २ अध्यक्ष अमित कुमार यादव, वडा ३ का अध्यक्ष गंगा प्रसाद यादव, वडा ४ का अध्यक्ष शिवनाथ साह, वडा ५ का अध्यक्ष प्रमेश्वर कुमार मण्डल, वडा ६ का अध्यक्ष दिलिपकुमार साह, तत्काली नइन्जिनियर सोनु साह, सव-इन्जिनियर सन्तोष कुमार मण्डल, सव-इन्जिनियर बिनित कुमार साह, खरिदार मोहनकुमार मण्डल, खरिदार मनोजकुमार यादवविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।


यसैगरी, लुम्बिनी÷डि. एण्ड एन. जे. भी. तथा डि. एण्ड एन. बिल्डर्स प्रा.लि. का तत्कालीन प्रबन्ध निर्देशक तथा हालका सांसद ठाकुरसहित लुम्बिनी बिल्डर्स प्रा.लि. का तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइएको आयोगले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom