भारतबाट दुई वटा मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले चेकजाँचका क्रममा रकमसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगञ्ज–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ता रहेका छन्। तिवारीको साथबाट बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा १३ लाख रुपैयाँ र गुप्ताको साथबाट ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा ५ लाख रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बरामद रकममा हजार दरका १,०८२ थान र पाँच सय दरका १,४३६ थान नोटहरू रहेका छन्। प्रहरीले सो रकमको प्रयोग उद्देश्यबारे सोध्दा दुबै जनाले स्पष्ट जानकारी दिन नसकेको जनाएको छ।
पक्राउ परेकाहरूलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।